‘आजको अर्थ’को सम्पादकमा कमलेश डि.सी.

१ बर्ष अगाडि

काठमाडौँ - फेडरल न्युज नेटवर्कद्वारा सञ्चालित आर्थिक अनलाइन समाचार पोर्टल ‘आजको अर्थ डटकम’को सम्पादकमा कमलेश डि.सी. नियुक्त भएका छन् । फेडरल न्युज नेटवर्क व्यवस्थापनको आइतबार बसेको सञ्चालक समितिको निर्णयअनुसार डि.सी.लाई सोमबार कुपन्डोलस्थित कार्यालयमा स्वागत गरियो । 

एक कार्यक्रमका बीच फेडरल न्युज नेटवर्कका प्रबन्ध निर्देशक सन्तोष पुडासैनीले डि.सी. लाई स्वागत गरेका हुन् । स्वागत गर्दै पुडासैनीले डि.सी.को नेतृत्वमा आजको अर्थले उचाइ लिनसक्ने विश्वास व्यक्त गरे । ‘संस्थाको उचाइको अपेक्षाका साथ यहाँलाई स्वागत गर्न पाउँदा हामी उत्साहित भएका छौँ’, पुडासैनीले भने, ‘त्यो आशा र अपेक्षा पूरा हुने विश्वासका साथ यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु ।’ 

सो अवसरमा डि.सी.ले आजको अर्थको ब्राण्डिङका लागि आफूले काम गर्ने भन्दै देशका हरेक गतिविधिहरुप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आर्थिक सूचकांकहरुको सुधारका लागि सरोकारवालाई खबरदारी गरिने बताए । यस्तै अर्थतन्त्रको अवस्थाका बारेमा सञ्चारमाध्यमद्वारा आम जनतालाई सुसूचित गर्ने र जनताको ध्यान केन्द्रित गर्न सहयोग गर्ने आफ्नो योजना रहेको पनि उनले सुनाए । 

देशको आर्थिक विकास, गतिविधि र अर्थतन्त्रको झलक ‘आजको अर्थ’ मार्फत प्रस्तुत गर्ने उल्लेख गर्दै डि.सी.ले भने, ‘मुलुकको आर्थिक विकास र समृद्धिमा आजको अर्थको माध्यमबाट योगदान गर्नका लागि लागिपर्छु  ।’सुर्खेत स्थायी ठेगाना भएका डि.सी.ले यसअघि सुर्खेत पोष्ट साप्ताहिकको कार्यकारी सम्पादक, महिमा साप्ताहिकको सहसम्पादकका साथै विभिन्न पत्रपत्रिकामा संवाददाताको रुपमा कार्य गरेका थिए । 

पत्रकार महासंघ सुर्खेतको पूर्वअध्यक्षसमेत रहेका उनी २०७० सालमा रातोपाटीको सम्पादकको भूमिकामा समेत थिए । सोही अवसरमा यसअघिका सम्पादक भरत पाण्डेयलाई धन्यवादसहित बिदाइ गरिएको छ । कार्यक्रममा बजार व्यवस्थापक भरत अधिकारीसहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया