नेपालमै बनेका सफ्टवेयर र आईटी प्रडक्टलाई प्राथमिकतामा राख्नुपर्छ : ढकाल

मंगलबार, २४ माघ २०७९, १३ : ५६

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आईटी क्षेत्रको विकासका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन्। 

काठमाडौँ भृकुटिमण्डवमा  मंगलबार क्यान इन्फोटेक–२०२३ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘जबसम्म सरकारका हरेक निकायले नेपालमै विकसित प्रविधि र आईटी प्रडक्टलाई प्राथमिकता दिँदैनन् तबसम्म यो क्षेत्र फड्को मार्न सक्दैन’, उनले भने, ‘यहाँको आईटी क्षेत्रलाई अगाडि बढाउन महासंघले सधैँ सहकार्य गर्नेछ र सम्बन्धित निकायसँग लबिङ पनि गर्नेछ।’


नेपालको आईटी क्षेत्रको विकासका लागि सबैले यसलाई प्राथमिकता राख्नुपर्ने धारणा पनि राखे। ‘हामीले नेपाली प्रडक्ट र टेक्नोलोजीलाई प्राथमिकता नदिएको हो कि रु’, उनले भने, ‘त्यसकारण हामी सबैले नेपालमै बनेका सफ्टवेयर र आईटी प्रडक्टलाई प्राथमिकतामा राख्नुपर्छ।’

वरिष्ठ उपाध्यक्ष ढकालले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न नेपाली आईटी कम्पनीसँग क्षमता रहेको पनि बताए। 

मंगलबार, २४ माघ २०७९, १३ : ५६

प्रतिक्रिया