शेयर बजार स्थिर नै रहोस् भन्ने केन्द्रीय बैंकको चाहना

शुक्रबार, २७ माघ २०७९, १४ : ०३

काठमाडौँ- नेपाल राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको प्रष्ट पारेका छन् ।

बैंकले शेयर बजारमा लचिलो नीति लिने बित्तिकै शेयरको मूल्य बढ्न गई थप माग सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै घर जग्गा र शेयर बजारको विषय नचलाएको बताएको हो।


“एसेटसँग सम्बन्धित विषयमा परिवर्तन गर्दा त्यसको भ्यालु बढ्छ। भ्यालु बढ्ने बित्तिकै त्यसले इनपोर्ट बढाउन टेवा दिन्छ। बल्ल बल्ल घटाएको इनपोर्टलाई फेरि त्यसले बिगार्न सक्छ। त्यही अवस्थालाई हेरेर नै एसेटसँग सम्बन्धित नीतिहरूलाई यथावत् राखिएको हो” मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि पत्रकारहरूको जिज्ञासाको जबाफ दिँदै केन्द्रीय बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले  भने।

श्रेष्ठको कुरालाई आधार मान्ने हो भने केन्द्रीय बैंक अझै पनि शेयर बजारमा तीव्र उछाल आओस् भन्ने पक्षमा छैन। उसले शेयर बजारलाई यथास्थितिमै रहोस् भन्ने चाहेको देखिन्छ। किनकि शेयर बजार बढ्ने बित्तिकै लगानीकर्ताले नाफा कमाउँछन्। त्यसले बजारमा माग बढाउँछ। माग बढ्ने बित्तिकै आयात बढ्छ। आयात बढ्ने बित्तिकै विदेशी संचितिमा असर गर्छ भन्ने राष्ट्र बैंकको विश्लेषण हो। सोही कारण अझै केही समय राष्ट्र बैंक शेयर बजार प्रति कसिलो नै रहने अनुमान गर्न सकिन्छ।

केन्द्रीय बैंकको लिएको नीतिले कै कारण शेयर बजार घटेको अवस्थालाई भने अझै  स्वीकार गरेन। उसले ब्याजदर घट्दै गएपछि शेयर बजारमा पनि सुधार आउने बताएको छ। “केन्द्रीय बैंकले लिएको नीतिले ब्याजदर घटाउन सघाउँछ। त्यसले एसेट बजारमा पनि राम्रै प्रभाव पार्ने अनुमान गर्न सकिन्छ” श्रेष्ठले भने।  

 

 

शुक्रबार, २७ माघ २०७९, १४ : ०३

प्रतिक्रिया