सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको महाधिवेशन चैतमा

१ बर्ष अगाडि

काठमाडौँ - सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको पहिलो केन्द्रीय महाधिवेशन चैतमा राजधानी काठमाडौँमा हुने भएको छ । महासङ्घ स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा फागुन महिनाभर स्थानीय तह र जिल्ला अधिवेशन गरी चैतमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष उम्मीद वागचन्दले जानकारी दिनुभयो ।

 विसं २०७८ फागुन २ गते विधिवत्रुपमा महासङ्घ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको थियो । अन्य महासङ्घ पेसागत हकहितका लागि खुलेकामा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ भने नागरिकका हकहित सुरक्षित गर्न खुलेकाले नेपाली नागरिकता पाउने जति सबैले यसको साधारण सदस्यता लिन सक्ने छन् ।

     कार्यक्रममा काठमाडौँ उपत्यका प्रदेशका अध्यक्ष ताराबहादुर भण्डारीले राजधानीमा हुने पहिलो केन्द्रीय महाधिवेशनका लागि काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लालाई विशेष भूमिकासहित परिचालन गर्न लागिएको जानकारी दिनुभयो । महासङ्घको विधानअनुसार आठवटा प्रदेश छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लालाई विशेष संयोजनका लागि छुट्टै प्रदेशको व्यवस्था विधानमा गरिएको छ ।

     केन्द्रीय महाधिवेशनका लागि हाल स्थानीय तह र जिल्ला अधिवेशन भइरहेको छ । पालिका र जिल्लास्तरका अधिवेशनपछि प्रदेश अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने तयारी छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ कार्यान्वयनका लागि महासङ्घ स्थापना भएको हो । सामान्य किसानसम्मलाई सूचनाको हक प्रयोग गर्नसक्ने गरी जागरण फैल्याउने अभियानमा पनि महासङ्घले काम गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

      महासङ्घमा सूचनाको हकका लागि जिल्ला सञ्जाल स्याङ्जा, डडेल्धुरा, कपिलवस्तु, सामुदायिक सारथी काठमाडौँ, शिशिर सञ्चार समूह धनुषा, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँके, सुशासन सङ्घ नेपाल सल्यान, सूचनाको हकका लागि जिल्ला सञ्जाल गोरखा, युवा सरोकार मञ्च बारा, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की, मोरङ, कैलाली गरी १२ संस्था आबद्ध छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया