काठमाडौं- पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ ।
नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ ।
राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए ।
कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको जनाउँदै उनले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिए ।
राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका थिए । स्थानीय मित्र पोखरेल, ज्ञानबहादुर राई, एकराज खरेल, भरत अर्याल लगायतले मलको समस्या समाधानको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने, फोहरको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने, धानको बीउ सहज उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख लामाले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएकाले स्थानीय सरकारले जिम्मा लिन नसकिने तर कम्पोष्ट मल उत्पादन गर्ने बताए। त्यसका लागि उनले वैशाख सम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । वडाध्यक्ष शिवकान्त ओलीले आफू स्वयम् नगरको फोहर व्यवस्थापन समितिको संयोजक रहेकाले समग्र नगरको फोहर व्यवस्थापनको काम सुरू गरिएको बताए । स्थानीय समाजसेवी नवराज पाठकले चुनावी घोषणापत्रअनुसार काम गर्न सुझाव दिए ।
नगरमा कोही पनि खान, बस्न, लाउनबाट वञ्चित हुनुनपर्ने बताउँदै प्रमुख लामाले विपन्नका लागि यो वर्ष एक सय घर बनाउन लक्ष्य रहेको बताए। खाध्यन्न अभावका कारण भोकै भएको जानकारी प्राप्त हुना साथ समस्या समाधान गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया