काठमाडौं – पछिल्लो समय देशभर लघुवित्तविरुद्धको आन्दोलन चर्किएको बेला बेला लघुवित्तले आफ्ना कर्मचारीहरुलाई दिने तनावका विषयमा पनि लघुवित्तका कर्मचारीहरुले आवाज उठाउन थालेका छन् । यसैबीचमा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुलाई अनावश्यक तनाव र दुख दिएको, ऋण असुलीका नाममा गैरमानवीय हर्कत गरेको लगायतका कारण देखाउँदै लघुवित्त वित्तीय संस्थाहरु नै खारेज गर्नुपर्ने भन्दै लघुवित्तविरुद्ध आन्दोलन चर्किरहेको छ । लघुवित्तले महिला कर्मचारीहरुलाई दिने तनावका विषयमा पनि लघुवित्तका कर्मचारीहरुले यतिबेलै आवाज उठाउन थालेका छन् ।
महिला कर्मचारीमाथि अनेकौं तनाब
यसो त लघुवित्तले आफ्ना कर्मचारीहरुलाई थरीथरीका तनाव दिने गरेको रहस्य एक एक गरी बाहिर आउन थालेका छन् । यतिसम्मकि परिक्षा हुँदा पनि बिदा नदिने, अतिरिक्त तलव नदिई बढी काम लगाउने र यस विषयमा आवाज उठाउनेहरुलाई लघुवित्तले पागल करार गर्ने काम भएको पाइएको छ । यसको ज्वलन्त उदाहरण आफैं भएको बताउँदै मेरो माइक्रोफाइनान्सका कर्मचारी नवीन शाह यतिबेला काठमाडौँमा आएर न्याय मागिरहेका छन् । उनलाई उनी कार्यरत लघुवित्तले उनी मानसिक असन्तुलन भएको व्यक्ति भएको भन्दै प्रहरीमा निवेदन दिएको छ, जवकि उनको मानसिक अवस्था ठिक छ ।
‘लघुवित्तमा माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई दोषारोपण गर्ने र बिना कारण टर्चर दिने प्रवृत्ति नयाँ होइन । अहिले जति टर्चर भयो भन्दै लघुवित्तका ऋणीहरु आन्दोलनमा छन्, त्यो भन्दा धेरै टर्चर लघुवित्तका सीईओले कर्मचारीलाई दिन्छन् । तर, जागिर जाने पिरले कोही बोल्दैनन् ।’ आवको अर्थसित एक पीडित कर्मचारीले भने, ‘अझ संस्थाभित्रका समस्या अनेक छन् । विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म काम गराइन्छ, तर अतिरिक्त तलव सुविधा हुँदैन । कर्मचारीले कहिले पनि बिदा पाउँदैनन् । बिदा माग्नेको सरुवा भईहाल्छ ।’
कार्यक्रममा उनले लघुवित्तमा काम गर्ने महिला कर्मचारीको स्थिति झनै जर्जर भएको दाबी गरेका छन् । ‘संस्थामा कार्यरत महिला कर्मचारी गर्भवती हुँदा सुत्केरी बिदा दिनुपर्ने र थप बोनस दिनुपर्ने भएकाले नियोजित रुपमै ती कर्मचारीलाई सरुवा गरिन्छ । जानै नसक्ने ठाउँमा सरुवा गरेपछि जागिर छोड्ने स्थिति ल्याउने बदनियतका साथ काम हुन्छ । तर यस विषयमा आजसम्म कसैले बोल्ने आँट गरेको छैन ।
यता महिला अधिकारकर्मीहरुले भने गर्भवती भएकै कारण कसैलाई जागिरबाट सरुवा गर्ने काम गलत भएको दाबी गरेका छन् । ‘प्रचलित श्रम ऐनले दिएको सेवा सुविधा दिनुपर्ने ठाउँमा उल्टै जागिरबाट निकाल्न खोज्नु गलत मात्र होइन कसुरजन्य कार्य हो ।’ महिला अधिकारकर्मी सावित्रा सुवेदी भन्छिन्( ‘यस्तो कसुर गर्नेलाई कानुनअनुसार कारवाही मात्र गरेर पुग्दैन, सामाजिक बहिष्कारसमेत गर्नुपर्छ ।’
जागिर खान पूर्जा धितो, गर्लफ्रेन्ड कर्मचारीलाई बढुवा छिटो १
लघुवित्तमा यो हदसम्मको मनपरी देखिएको छ कि, काम गर्ने कर्मचारीहरुले जागिर खान आफ्नो जग्गासमेत कम्पनीमा धितो राख्नुपर्छ । यसरी जग्गा रोक्का गरिदिने र कार्यालयले भने अनुसार नभए जग्गा फुकुवा नै नहुनेगरेको प्रमाणसमेत भेटिएको छ । विभिन्न लघुवित्तले हिसाबकिताब बिग्रिएको खण्डमा सोहि जग्गाबाट भरपाई गराउने भन्दै नियम विपरित यसरी कर्मचारीको जग्गा रोक्का राख्ने गरेको पाइएको छ ।
अझ अचम्मको कुरा त के छ भने, हिसाब बिगारेका कतिपय आफ्ना कर्मचारीलाई भने लघुवित्तले बढुवा गरिदिएको पाइएको छ । महिला लघुवित्तकी एक कर्मचारीलाई संस्थाका एक अर्का कर्मचारीले आफ्नी प्रेमिका भएकै कारण बढुवा सिफारिस गरेको आरोपसमेत यतिबेला लागेको छ । अहिले यो प्रकरण पनि सतहमा छ, जहाँ महिला लघुवित्तमा कार्यरत एक साखाकी कर्मचारीले हिसाब निकै बिगारेकी छिन् । तर उनीबाट पैसा असुल गर्नुको सट्टा उनलाई संस्थाका एक उच्च अधिकारीकि प्रेमिका भएकै कारण बढुवा गरिएको पाइएको छ ।
प्रतिक्रिया