अन्तरक्रिया कार्यक्रम सम्पन्न

शुक्रबार, १२ फागुन २०७९, १५ : ०७

 काठमाडौं - नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरी बीमाका समग्र विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।प्रमुख पाण्डेयले नागरिकको जीवन तथा सम्पत्तिको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्नका लागि बीमालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्री देवी अर्यालले पहिलो प्रयासका रूपमा न्यून आय भएका बर्गको बीमा गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख गर्दै बीमाको पहुँच विस्तारका लागि उपमहानगरपालिका सम्बद्ध सबै निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई पालिकाहरूमार्फत सबै नागरिकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्दै आएको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयसँगको समन्वयमा जीवन तथा निर्जीवन बीमालाई प्रभावकारीरूपले अगाडि बढाउने र त्यसमा कुनै कमी कमजोरी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

 
 
 

शुक्रबार, १२ फागुन २०७९, १५ : ०७

प्रतिक्रिया