काठमाडौँ- नेपाली उद्योग प्रतिष्ठानहरुलाई आवश्यक पर्ने दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन गर्न सुरु गरिएको छ ।
स्वदेशी श्रम बजारमा आवश्यक पर्ने दक्ष श्रमशक्तिलाई सीपमा आधारित तामिल सञ्चालन गर्ने उद्देश्यअनुसार उनीहरुको जानकारी संकलन गरिएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा विराटनगरमा ‘इम्प्लोयर्स मिट’ गरिएको हो । जहाँ उद्योग प्रतिष्ठानको व्यवस्थापन, प्रशासन र श्रमशक्ति परिचालनमा संलग्न रहेका उच्च तहका कर्मचारी तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सुवास आचार्यले उद्योग प्रतिष्ठानको आवश्यकताअनुसारको दक्ष जनशक्तिको उत्पादन एवं आपूर्ति गरी रोजगारी सिर्जनाको बाटो तयार गर्न कार्यक्रम प्रभावकारी रहेको जानकारी दिए । महासंघले कार्यस्थलमा आधारित सीप विकास तालिमहरु सञ्चालनका लागि उद्योग प्रतिष्ठानको अवस्था पहिचान गर्न यस्तो कार्यक्रम गरिएको बताए ।
“यहाँहरुको उद्योग प्रतिष्ठानको अनुभवबारे जानकारी संकलन गर्न कार्यक्रमको आयोजना गरिएको हो, देश विकासमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको सन्दर्भमा उद्योगले मात्रै मुलुकमा रोजगारी सिर्जना गरिरहेका छन्,” उनले भने, “एकातिर बैंक तथा वित्तीय संस्थाको असहयोग रहँदै आएको, अर्कातिर दक्ष कामदारको अभावले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा सञ्चालन हुन नसकेको बेलामा श्रमशक्तिको विकासमा हामी सबै प्रयत्नशील रहेका छौँ ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सीप विकास परियोजनाका सह–निर्देशक एवं परियोजना संयोजक अजित कुमार गुप्ताले कार्यस्थलमा उपलब्ध रहेको सीपलाई अधिकतम प्रयोग गरी नेपाली उद्योग व्यवसायको विकास गर्न सकिने बताए । नेपालमा कूल जनसंख्याको काम गर्नसक्ने जनसंख्या करिब ७१ प्रतिशत भन्दै उनले बर्सेनि पाँच लाख युवा जनशक्ति श्रम बजारमा भित्रिने बताए । त्यसमध्ये अहिले ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको सुनाए ।
सीपसम्बन्धी विज्ञ खेमराज काफ्लेले रोजगारीका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालनका लागि आवश्यकता पहिचान गर्ने अभिप्रायले उद्योग प्रतिष्ठानहरुका प्रतिनिधिसँग प्रश्नावलीका माध्यमबाट विवरण संकलनमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सरु केसी, कार्यकारी निर्देशक राधारमण भण्डारी, विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु, महासंघका कर्मचरीलगायत सहभागी थिए ।
प्रतिक्रिया