मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः अध्यक्ष बस्नेत

१ बर्ष अगाडि

काठमाडौँ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुनसके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा काउन्सिल र नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘मातृभाषा र पत्रकारिता’ विषयक अन्तत्र्रिmयामा अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “भाषामाथिको प्रहार देशमाथिको प्रहार भएकाले भाषाभाषीको विविधतालाई जोगाउन आवश्यक छ, त्यसको संरक्षण अभियानमा काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु ।” अध्यक्ष बस्नेतले मातृभाषाको महत्त्व बुझेर नै काउन्सिलले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा समेत प्रकाशन गरेको जानकारी दिँदै काउन्सिलले मातृभाषा पत्रकारिताको थप विकास र प्रवर्द्धन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काउन्सिलका सदस्य शरद अधिकारीले काउन्सिलले आचारसंहिताजस्तै शैली पुस्तिकालाई पनि नेपाली भाषाबाहेक अन्य मातृभाषामा प्रकाशित गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार सुरेशकिरण मानन्धरले कुनै पनि ठाउँको संस्कृति, सभ्यता, संस्कार र इतिहास जोगाउन भाषाको जगेर्ना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । काउन्सिलका सदस्य लालबाबु शेखले उर्दू, भोजपुरी, मैथिलीलगायत भाषाको विकासलाई पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल भाषाको संरक्षणमा जोड दिनुभयो । कार्यक्रममा मधेस पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामा र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका उपाध्यक्ष अमरध्वज लामाले भाषागत पत्रकारिताका महत्त्वका सम्बन्धमा आआफ्नो विचार राख्नुभएको थियो । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया