काठमाडौंको वायु ‘अस्वस्थकर’ / प्रदूषणको मात्रा १८४ यूएस एक्यूआई

आइतबार, २१ फागुन २०७९, १२ : ४३

काठमाडौँ - काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांक (एक्यूआई) ले देखाएको छ । 

आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक अस्वस्थकर देखिएको छ । एयरका अनुसार आइतबार बिहान ११ः४५ बजे काठमाडौंको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा १८४ यूएस एक्यूआई छ । 

  त्यस्तै, रत्नपार्ककोे १७३, भक्तपुरको १७९, किर्तिपुरको १६२, यूएस एक्यूआई  देखिएको छ । बिहीबार १६५ यूएस एक्यूआई रहेकोमा शुक्रबार १६६, १६९ हुँदै आइतबार १८४ यूएस एक्यूआई  पुगेको हो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । 

 एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

आइतबार, २१ फागुन २०७९, १२ : ४३

प्रतिक्रिया