सोलु खोला आयोजनाले थाल्यो व्यवसायीक उत्पादन

मंगलबार, २३ फागुन २०७९, १४ : ५७

काठमाडौँ - ८६ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाले व्यवसायीक उत्पादन सुरु गरेको छ । सोलु खोलाको पानीलाई टनेलमार्फत दुधकोसीमा मिसाएर व्यवसायीक उत्पादन थालेको कम्पनीको आज उद्घाटन हुँदैछ ।

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि व्यवसायीकरुपमा उत्पादन सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक शुसील थापाले जानकारी दिए । उनले माघ २७ गतेदेखि नै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि फागुन १७ गतेदेखि व्यवसायीक उत्पादन सुरु भएको जानकारी दिए ।

 आयोजनाको निर्माण सम्पन्न भएपछि करिब १ महिनाको अवधिमा परीक्षण उत्पादन हुन्छ र उक्त समय निःशुल्क विद्युत प्राधिकरणलाई बिजुली दिनुपर्छ । परीक्षण अवधि सकिएर व्यवसायीक उत्पादन सुरु भएपछि कम्पनीको उद्घाटन हुन थालेको थापा बताउँछन् ।

आयोजनाको निर्माण सुरु भएपछि ३ वर्ष ९ महिनाको अवधिमा सम्पन्न भएको थियो । यही कारण, प्रतिमेगावाट लागत १७ करोड रुपैयाँ आसपास रहेको कम्पनीले बताएको छ । जबकि, नेपालमा प्रतिमेगावाट बिजुली उत्पादन सरदर २० करोड रुपैयाँ पर्न आउँछ ।

आयोजनाबाट बिजुली उत्पादन गर्न सोलु खोलाको पानीलाई ७।६ किलोमिटर लामो सुरुङमार्फत दुधकोसी खोलामा पानी खसाइएको छ । यस्तै, कम्पनीले दुधकोसीदेखि तिम्ला सबस्टेशनसम्म १२ किलोमिटर लामो १३२ किलोभोल्ट ९केभीए० प्रसारण लाइन समेत निर्माण गरेको छ ।

नदी प्रवाहमा आधारित आयोजना भएकाले वर्ष याममा ८६ मेगावाट जलविद्युत उत्पादन हुने भएपछि हाल सुख्खा याममा कम्पनीले २८ देखि ३५ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेको छ । यसले प्रतिवर्ष ५२० गिगाआवर बिजुली उत्पादन गर्ने प्रबन्ध निर्देशक थापाले बताए ।

मंगलबार, २३ फागुन २०७९, १४ : ५७

प्रतिक्रिया