दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या

१ बर्ष अगाडि

टीकापुर - कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् ।

उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ । कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ ।

नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या बढेर ५४ पुगेपछि समस्या भएको उनले बताए ।

असोजपछि कसैले पनि तलबभत्ता नपाएको उनले गुनासो गरे । लामो समयदेखि तलबभत्ता नपाएपछि उनीहरूले आइतबारदेखि कार्यालयमा हाजिर गर्ने तर काम नगर्ने चेतावनी दिएका छन् । नियमित तलबभत्ता नपाउँदासम्म कालोपट्टी बाँधेर धर्ना दिने कर्मचारीको चेतावनी छ ।

नगरप्रमुख हमालले ६ महिनादेखि स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेको स्वीकारे । संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको उनको भनाई छ । अहिले संघीय सरकारले तलबभत्ताका लागि बजेट नपठाएको बताए । स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त नभएको बताए । दरबन्दीभन्दा बढी कर्मचारी हुँदा समस्या भएको उनले बताए ।

१ बर्ष अगाडि

प्रतिक्रिया