प्रधानमन्त्री प्रचण्ड किन पुगे लेखराज भट्टको घरमा ?

आइतबार, २६ चैत्र २०७९, ११ : ५४

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन्। भट्ट पूवृ माओवादी नेता समेत हुन । माओवादीमा रहँदा उनी प्रचण्ड निकट मानिन्थे ।

धनगढी विमानस्थलमा अवतरण भएलगत्तै उनी कैलालीस्थित गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको भट्टको घरमा पुगेका हुन्।

भर्खरै भट्टको निवासमा पुगेका दाहाल चिया नास्ता गरेर त्यहाँबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।


धनगढी आउँदा प्रधानमन्त्री प्रचण्ड लेखराजको घर पुगेर खाना खाएर जाने गर्थे। तर २०७५ पछि उनीहरूको सम्बन्ध चिसिएको थियो, त्यसपछि यहाँ आउँदा उनले भट्टलाई भेट्ने गरेका थिएनन्।

तत्कालीन नेकपाको धुव्रिकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका भट्टलाई दाहालले धनगढीको एक सभामा होच्याएर बोलेका थिए। त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो।

‘बिहान ८ बजेतिर प्रधानमन्त्री ज्यूले फोन गरेर म त्यता आउँदैछु, तपाईकोमा पनि आउँछु भनेर भन्नुभएको थियो,’ भट्ट निकट स्रोतले भन्यो, ‘उहाँले पनि हुन्छ आउनुस भन्नुभयो र भेटघाट भयो।’

 

आइतबार, २६ चैत्र २०७९, ११ : ५४

प्रतिक्रिया