काठमाडौँ - नेपाल राष्ट्र बैंकले नेष्डो लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा हस्तक्षेप गरेको छ । कम्पनीले सेयर धनीहरूका लागि बोनस सेयर र नगद लाभांश गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा केन्द्रीय बैंकले अधिकतम १७.९३ प्रतिशत मात्र लाभांश वितरणको स्वीकृति दिएको हो ।
राष्ट्र बैंकले सोमबार कम्पनीलाई एक पत्र पठाउँदै बोनस सेयर र नगद लाभांश गरी १७.९३ प्रतिशत मात्र बाँड्न निर्देशन गरेको छ । कम्पनीले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने कम्पनीले जनाएको छ ।
गत फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत लाभांशको जानकारीले सेयर धनीले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको कम्पनीले जनाएको छ ।
साथै, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको र लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई नेपाल राष्ट्र बैकबाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया