काठमाडौँ- हाल सञ्चालनमा रहेको २१ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९–८०को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार तेस्रो त्रैमासम्म वाणिज्य बैंकहरुको कुल नाफा ४८ अर्ब ७० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा साढे ११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुको कुल नाफा ४३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।
त्यसो त खराब कर्जा अनुपात (एनपीएल) बढ्दा बैंकहरुको नाफा प्रभावित भएको देखिन्छ। खराब कर्जा बढेसँगै बैंकहरुको इम्पेयरमेन्ट चार्ज बढ्दा पनि केही बैंकको नाफमा संकुचन पनि आएको छ।
समीक्षा अवधिसम्मको तथ्यांक केलाउने हो भने बढी नाफा आर्जन गर्नेमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा १६।९६ प्रतिशतले नाफा बढाउँदै ४ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बढी नाफा आर्जन गर्नेमा एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष ३ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
प्रतिक्रिया