प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत

आइतबार, १० बैशाख २०८०, १४ : २०

काठमाडौँ- प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सवा २८ लाख कित्ता बढी सेयर सर्वसाधारण समूहमा परिणत भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते) को निर्णयअनुसार संस्थापक समूहको २८ लाख २६ हजार ८६९.१३ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो। नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन स्वीकृति गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रबन्धपत्र था नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको उक्त संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको नेप्सेले जनाएको छ। 

अब ती सेयर पनि सर्वसाधारण समूहअन्तर्गत नै कारोबार गर्न योग्य भएको नेप्सेले जनाएको छ।

योसँगै प्राइम लाइफमा संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व भएको छ। यसअघि कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। 

आइतबार, १० बैशाख २०८०, १४ : २०

प्रतिक्रिया