डोटीका ३३ वडामा छैनन् वडासचिव

११ महिना अगाडि

डोटी - डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।” 

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन् । नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताउनुभयो ।
  
त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताउनुभयो । बडीकेदार गाउँपालिकामा वडा सङ्ख्याका आधारमा सचिव छैनन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीन वडा सचिवविहीन छन् । वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताउनुभयो । 
छ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन् । वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिनुभयो । वडासचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

बोगटान फुड्सिल गाउँपालिकाका छवटा वडामा सचिव छैनन् । सात वडा रहेको यस गाउँपालिकामा नं ३ मा मात्र वडासचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताउनुभयो । वडासचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उहाँले बताउनुभयो ।
 
त्यस्तै सात वडा रहेको केआईसिंह गाउँपालिकामा पनि दुई वडा सचिवविहीन छन् । वडा नं १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिनुभयो । पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन् । सात वडा रहेको यस पालिकाका तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा नं ३ र ७ मा एक जनाले हेरिरहेका छन् भने २ र ६ मा वडासचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।
 
सात वडा रहेको आदर्श गाउँपालिकामा पनि तीनवटा वडा सचिवविहीन छन् । वडा नं ३, ५ र ७ मा वडासचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताउनुभयो । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताउनुभयो । 

प्रदेशका ८८  स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भए÷नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उहाँ भन्नुभयो, “हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ ।” वडासचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । रासस

११ महिना अगाडि

प्रतिक्रिया