काठमाडौँ - अब बैंकहरुले तोकिएको भिसा शुल्कसम्मको अमेरिकी डलर सटही सुविधा प्रदान गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै यो सुविधा थप गरेको हो। अब भिसा आवेदनको हकमा सम्बन्धित दूतावासलगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यमसमेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम १ हजार अमेरिकी डलरको सीमाले बाधा पुर्याएको नमानिने राष्ट्र बैंकले व्यवस्था गरेको छ।
यसअघि यो व्यवस्था राष्ट्र बैंकले गरेको थिएन।
यसअघि यस्तो सटही सुविधा अधिकतम १ हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। यसैगरी एकीकृत परिपत्रमा अन्य जुनसुकै कुरा लेखिएको भए पनि शिक्षा, विज्ञा तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपछि बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन लेटर)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
त्यसैगरी अब बैंकहरुले ५० अमेरिकी डलरभन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै यो सुविधा थप गरेको हो। यसअघि यो व्यवस्था गरिएको थिएन।
त्यस्तै यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवर्त्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० दरभन्दा साना दरका नगद नोट खरिदसमेत)र बिक्री दरबीचको फरक १ प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था गरेको छ।
तर, अमेरिकी डलरका हकमा भने खरिद र बिक्री दरबीचको फरक नेपाली रुपैयाँ ०.६० भन्दा बढी हुन नहुने व्यवस्था भने राष्ट्र बैंकले थप गरेको छ।
प्रतिक्रिया