बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाएः पर्यटन मन्त्री किराँती

११ महिना अगाडि

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बैङ्क तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’ को संज्ञा दिएका छन् । बैक तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किराँतीको भनाई थियो । होटेल एसोसिएसन अफ नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घर खेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गरे ।

 मन्त्री किराँतीले पहिले शोषकहरू दौरा सुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताए । ‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनुपर्‍यो । यसरी आम रूपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छन् । १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छन् विदेश रु पैसा छैन । बैंकलाई लगाइदिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरि उसले पैसा फर्काएर लान्छ’ उनले भने, ‘नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर । महँगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरा सुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउँथे शोषक । अहिले त कम्प्युटर बोकेर पो आउँछ ।’ 

 उनले सहरमा पनि बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराए । मन्त्री किराँतीले बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताए । ‘गाउँ गाउँ पुगेको छ वित्तीय संस्थाहरू । आमाहरूलाई राखेर ऋण दिन्छ । बिचरा आमालाई छोराछोरीहरूले मोबाइल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ, आयस्रोत छैन’ किराँतीले भने, ‘अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छिन् । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ ।  घटाउन सक्ने स्थिति पनि छैन ।’

 मन्त्री किराँतीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता पनि औँल्याए । उनले होटेल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिए ।

११ महिना अगाडि

प्रतिक्रिया