ऋणको जमानी बस्दा सचेत हुन राष्ट्र बैंकको आग्रह

सोमबार, ०१ जेठ २०८०, ०८ : ५५

काठमाडौं - केन्द्रीय बैंकले ऋणको जमानी बस्दा सचेत हुन आग्रह गरेको छ । राष्ट्र बैंकले वास्तविक ऋणीले कर्जा भुक्तानी गर्न नसकेको अवस्थामा बैंकले जमानीकर्ताले दिएको धितोबाट पनि ऋण असुलीउपर गर्ने भएकाले जमानी बस्दा सचेत हुन आग्रह गरेको हो । 

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा भनेको छ, ‘कुनै कर्जाको लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरू, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जा सम्बन्धी सर्त एवम् जमानीसम्बन्धी कानुनी व्यवस्था र भविष्यमा आइपर्नसक्ने आफ्नो दायित्व प्रष्ट बुझेर मात्र जमानी दिनुपर्दछ ।’ 

राष्ट्र बैंक ऐन, २०५८ अनुसार कर्जा ‘चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेकाले यदि कसैले जमानी दिएको छ भने कर्जा लिएको हैन (जमानी मात्र दिएको हो) भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने उल्लेख छ । 

राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरुपता ल्याउने उद्देश्यले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुनेछ । यसकारण कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था छ ।

सोमबार, ०१ जेठ २०८०, ०८ : ५५

प्रतिक्रिया