राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकार अग्रसर

१० महिना अगाडि

काठमाडौँ-  सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । 

सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न निर्णयहरू गरेको हो । 

आयोजनाका प्रमुखहरूसहित मन्त्रालयमा बुधबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरूको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरूको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ । 

आयोजनाहरूको अवस्थालाई दैनिक अनुगमन गरी त्यसमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्ने र आयोजनाहरूमा देखिएका स्रोत व्यवस्थापनका समस्याहरूलाई पनि समाधान गर्ने मन्त्रालयको निर्णय छ । 

बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिएका थिए । राष्ट्रिय गौरवका रूपमा सूचिकृत भएका आयोजनालाई अरु सामान्य आयोजनाका रूपमा लिन नहुने र सो आयोजनाहरू अब तीब्र गतिमा अगाडि बढ्ने मन्त्री बस्नेतको भनाइ छ । 

मन्त्रालयले सबै आयोजनाको पब्लिक अडिट गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार, उपभोक्ता, आयोजना क्षेत्रका राजनीतिक दलका प्रतिनिधिहरू, निर्माण व्यवसायी, मिडिया, विज्ञहरू र आयोजनाका अधिकारीहरूसहितको सहभागितामा पब्लिक अडिट गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइका ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन् । जसमा महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिचाई आयोजना, सुनकोशी मरिन डाइभर्सन आयोजना रहेका छन् ।  

१० महिना अगाडि

प्रतिक्रिया