तेस्रो त्रैमाससम्ममा  जीवन बीमा कम्पनीहरुको खर्च कति ?

विहीबार, ०४ जेठ २०८०, १३ : ५६

काठमाडौं-  जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । 

कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्म व्यवस्थापनमा खर्च गरेको सो रकम गत वर्षको तुलनामा ३.४७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले ८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेका थिए ।

१७ जीवन बीमा कम्पनीमध्ये चालु आवको ९ महिनासम्म सबैभन्दा बढी व्यवस्थापनमा खर्च गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । नेपालले सो अवधिसम्म एक अर्ब १८ करोड ४२ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ । साथै मर्जरमा सामेल भएका सुर्यज्योति लाइफको पनि व्यवस्थापन खर्च अत्यधिक बढेको देखिएको छ । दोस्रो बढी खर्च गर्ने सुर्यज्योतिले सो अवधिसम्म ९२ करोड ६७ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

साथै नेशनल लाइफले ८३ करोड ७७ लाख, साविक युनियन लाइफले ५३ करोड ९.८९ लाख र सानिमा रिलायन्सले ५२ करोड ४८ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । अन्य कम्पनीहरुको यस्तो खर्च सो अवधिसम्म ५० करोड भन्दा मुनि रहेको छ ।

गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउने कम्पनीहरु
गत वर्षको तुलनामा चालु आवको चैत मसान्तसम्म ९ जीवन बीमा कम्पनीले व्यवस्थापन खर्च घटाएका छन् । सबैभन्दा बढी खर्च कटौती गर्ने कम्पनीमा साविक युनियन लाइफ रहेको छ । युनियन लाइफले गत वर्षका तुलनामा यस अवधिसम्म २०।९६ प्रतिशतले व्यवस्थापन खर्च घटाएको छ ।

त्यस्तै, सन नेपालले १७.७७ प्रतिशत, एशियन लाइफले १४.४१ प्रतिशत, सिटिजन लाइफले १३.३० प्रतिशत, साविक प्राइम लाइफले १२.२१ प्रतिशत, एलआइसी नेपालले ११.३२ प्रतिशत, सानिमा रिलायन्स लाइफले ८.३२ प्रतिशत, नेशनल लाइफले ४.९३ प्रतिशत र रिलायबल नेपाल लाइफले ३.४९ प्रतिशतले व्यवस्थापन खर्च घटाएका छन् ।

विहीबार, ०४ जेठ २०८०, १३ : ५६

प्रतिक्रिया