आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको प्रधानमन्त्री दाहालको भनाई

१० महिना अगाडि

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् । 


‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठुलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ आफूले सोहीअनुसार भूमिका खेलेको पनि प्रचण्डले बताए । 

उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रूपमा आफ्नो भारत भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।  उनले अगाडि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत समस्याको विषयमा पुरै गम्भीरता र जिम्मेवारीपूर्वक भन्न चाहन्छु । यो समस्या समाधान गर्नै पर्छ । जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल–भारत बीचको समस्या समाधान हुन सक्दैन ।’

उनले सिमानाको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले प्रस्टसँग राखेको पनि बताए । सिमानाको समस्या हल गर्नुपर्छ भनिएको प्रधानमन्त्री स्तरबाट पहिलोपटक भएको दाबी गर्दै प्रचण्डले भने, ‘सीमा समस्या हाल गर्नुपर्छ । प्रधानमन्त्री स्तरबाट बोलिएको पनि यो पहिलो पटक हो । हामीले यो समस्या स्थायी रूपमा समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’


उनले पहिलोपटक भारतीय प्रधानमन्त्रीले  सीमा समस्या हल गर्ने विषयमा बोलेको भन्दै खुसी पनि व्यक्त गरे ।  ‘२०१४ मा यही संसद्मा नेपाल–भारतबीचको सम्बन्ध हिट भएको थियो, अब सुपर हिट हुन्छ भन्नु भएको छ । यसमा खुसी मनाउने कि दुःख मनाउने हो रु’, प्रचण्डले भने, ‘यो खुसीको कुरा हो ।’

१० महिना अगाडि

प्रतिक्रिया