काठमाडौं – वीरेन्द्रनगर नगरपालिकाले बालुवा गिट्टी निकाल्न दिएको ठेक्का गम्भीर विवादमा परेको छ । ठेकेदार कम्पनिले मापदण्ड विपरित निर्माण सामग्री निकालेर खोलाको अत्यधिक दोहन भएको भन्दै वडा न: ३ का अध्यक्ष विनोद विष्टले आफ्नो फेसबुकमा एउटा भिडियो पोष्ट गरेका छन् ।
नगर कार्यपालिकाले बालुवा गिट्टी निकाल्न प्रयोग गर्न अनुमति दिएका भन्दा छुट्टै हैभी उपकरणहरु खुलेयाम प्रयोग गरेको उनले बताएका छन् । इआइएले तोकेको मात्राभन्दा धेरै मात्रामा निकालिएकोमा उनले तीब्र आक्रोश पोखेका छन् । उनले खोलामा अनुमति नदिएका उपकरणहरु प्रयोग गरिएको भिडियो देखाउँदै आफ्नो छातिमा डोजर चलेको जस्तो पीडा भएको उल्लेख गरेका छन् । अनुगमन संयोजक उप प्रमुख नीलकण्ठ खनाललाई पनि उनले गुहारेको देखिन्छ । यस सम्बन्धमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग आजको अर्थले जिज्ञासा राख्दा उनले मापदण्ड विपरित उपक्रम प्रयोग गरेको पाइए नियन्त्रणमा लिइने बताए । त्यहाँ मापदण्ड विपरित काम भएको थाहा पाएपछि आफू अनुगमनमा पनि गएको प्रमुख जिल्ला अधिकारीले बताए । नगर पालिकाका प्रमुख कार्यकारी अधिकृतले यस बारेमा आफूलाई केही पनि थाहा नभएको र अनुगमन संयोजक उप प्रमुखलाई थाहा होला भने । उनको भनाइले झन शंका उत्पन्न भएको छ ।
स्मरण रहोस उक्त क्षेत्र राष्टपति चुरे संरक्षण भित्र पनि पर्दछ । यसरी खुलमखुल्ला नदी खोलाजन्य पदार्थको चरम दोहन भैरहँदा पनि नियामक निकाय आँखा चिम्लेर बस्नु अर्को रहष्य बनेको छ । नाम उल्लेख नगर्ने सर्तमा एमाले सुर्खेतका एक नेताले नरहरी तिवारीको सरुवा हुनुमा पनि यही ठेक्का कारण बनेको बताए ।
प्रतिक्रिया