बिक्री नभएपछि गोलभेँडा खोलामा फाल्न किसान विवश : बिचौलिया भने मालामाल

आइतबार, २८ जेठ २०८०, ११ : २७

काठमाडौं – किसानले दुख गरेर फलाएको गोलभेंडाले बजार नपाउँदा बिचौलिया भने मालमाल हुने गरेका छन् । अर्कोतिर तरकारी किनेर खाने ग्राहकले भने चर्को मूल्उ तिर्नुपर्ने वाध्यता छ । यस्तै पीडा काभ्रे पाँचखालका किसानले भोग्दै आएका छन् ।  पाँचखाल ६ का जयराम दनुवारको खेतभरि लटरम्म फलेको गोलभेँडा पाकेर राताम्मे भएको  छ, तर बिक्री हुँदैन । दनुवारले पाँचखाल नगरपालिका–६ मा ६–सात रोपनी जग्गा लिजमा लिएर गोलभेँडा खेती गरेका थिए । केजीको दुई रुपैयाँमा पनि बिक्री नभएपछि खोलामा लगेर फाल्नुपर्ने विवशतामा दनुवार छन् ।

‘केही हुन्छ कि भनेर अर्काको जग्गा लिजमा लिएर गोलभेँडा लगाएको थिएँ । गोलभेँडा पनि राम्रै फल्यो, तर बेच्ने वेलामा भाउ नै छैन,’ उनले भने, ‘दुःख गरेर गोलभेँडा फलायौँ, तर बेच्ने वेलामा व्यापारीले लिनै मान्दैन । भाउ नै छैन भन्छ । क्रेटको ५० रुपैयाँदेखि दुई सयसम्म दिन्छ, त्यो पनि पाकेको जति लाँदैन ।’

दनुवारले प्रतिरोपनी १५ देखि २० हजार वार्षिक जग्गा भाडा तिर्नुपर्ने हुन्छ । गोलभेँडाले भाउ नपाउँदा भाडा तिर्न नसक्ने अवस्था आएको उनले बताए । ‘६–सात रोपनी जग्गा लिजमा लिएर गोलभेँडा लगाएको छु । प्रतिरोपनी १५ देखि २० हजारसम्म वार्षिक भाडा तिर्नुपर्ने हुन्छ । वार्षिक करिब एक लाख २० हजारजति जग्गाभाडा तिर्नुुपर्छ,’ उनले भने, ‘जग्गाको भाडा पनि तिर्न नसक्ने हो कि भन्ने चिन्ताले राति निद्रै लाग्दैन ।’

पाँचखाल नगरपालिका–६ का माइला दनुवार टन्टलापुर घाममा पसिना पुछ्दै खेतको गरामा गोलभेँडाको दाना सुमसुम्याउँदै थिए । राताम्य गोलभेँडाको दाना सुमसुम्याउँदै दनुवारले दुखेसो पोखे, ‘जग्गा भाडामा लिएर गोलभेँडा खेती गरियो, तर बेच्ने वेलामा दुई रुपैयाँ किलो पनि बिक्री हुँदैन ।’ शुक्रबार मात्र छिमेकीको गोलभेँडा बिक्री नभएर खोलामा लगेर फालेको उनले बताए । खेतमै कुहाउँदा अम्लीयपन बढ्ने डरले खोलामा फालेको उनको भनाइ छ । तीन–चार दिनमा टिपिरहनुपर्ने गोलभेँडा बिक्री नभएका कारण सात–आठ दिनदेखि नटिपेको उनले बताए ।

पाँचखाल नगरपालिका–३ का श्यामकुमार शाहको पीडा पनि जयराम र माइलाको भन्दा फरक छैन । अहिले बजारमा प्रतिक्रेट ५० रुपैयाँमा बिक्ने गरेको उनले बताए । ‘गोलभेँडाको भाउ नै छैन, किलोको दुई रुपैयाँ पर्ने रहेछ,’ शाहले भने, ‘टिपेको ज्याला पनि आउँदैन । तर खेतमै कुहाउनुभन्दा दुई–चार सय भने पनि आउँछ । बच्चाहरूलाई कापीकलम किन्न भए पनि हुन्छ भनेर टिपेको, व्यापारीले लान्छन् कि लाँदैनन् ठेगान छैन ।’ पाँचखाल नगरपालिका–६ का चिरञ्जीवी तिमल्सिना, वडा नम्बर ४ का शिवराज दनुवार, वडा नम्बर ४ की सञ्जिता दनुवार, वडा नम्बर ६ का किरण दनुवार, राधिका दनुवारलगायतको हालत पनि उस्तै छ ।

भारतीय गोलभेँडाका कारण नेपाली गोलभेँडाले भाउ पाएन
पाँचखाल नगरपालिका–६ का चिरञ्जीवी तिमल्सिनाले भारतीय गोलभेँडा नेपालमा भित्रिएकाले नेपाली गोलभेँडाले बजार नपाएको तर्क राखे । भारतीय गोलभेँडा रोकेमा आफूहरूको गोलभेँडाले बजार पाउने र मूल्य पनि पाउने उनको भनाइ छ । पाँचखाल नगर प्रमुख महेश खरेलले पनि सिमानामा चेकजाँचविनै तरकारी नेपाल भित्रिएका कारण नेपाली तरकारीले बजार नपाएको बताए । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउ पाउने सम्भावना नै नरहेको उनको भनाइ छ । ‘यो त पाँचखालको मात्र होइन, देशकै समस्या हो । भारतीय तरकारी नरोकेसम्म नेपाली तरकारीले भाउ पाउने सम्भावना छैन,’ उनले भने, ‘त्यसमा हामीले के गर्न सक्छौँ र, संघीय सरकारले नै रोक्नुपर्छ ।’

यो समस्या पाँचखालको मात्र होइन, सबैतिर यस्तै अवस्था छ । किसानको उत्पादनले मूल्उ नपाउने तर वास्तविक ग्राहक पनि मर्कामा पर्ने अवस्थाको अन्त्य गर्न सरकारले ठोस कदम चाल्न सकेको छैन ।

 

आइतबार, २८ जेठ २०८०, ११ : २७

प्रतिक्रिया