कृषि बीमालाई निरन्तरता दिदैँ बीमा कम्पनी

मंगलबार, ०५ असार २०८०, ११ : ५९

 काठमाडौँ-नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापतको पहिलो किस्ता दिएको दुई सातापछि कम्पनीहरुले कृषि बीमालाई निरन्तरता दिएको छ।लामो समयदेखि कृषि बीमा र दाबी भुक्तानी सम्पूर्ण प्रकृया बन्द गरिरहेको कम्पनीहरुले सरकारले कृषि अनुदान दिएपछि कृषि बीमा कार्यक्रम पुन खुल्ला गरेको हो ।

सरकारले कृषि बीमा वापत कम्पनीहरुलाई पहिलो किस्ता वापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनुदान नदिएको भन्दै पोलिसी नै बन्द गरेपछि सरकारले पहिलो चरणमा सो मात्राको रकम निकाशन गरेको थियो ।सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए ।सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ ।

‘सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएको छ, बाँकी रकम भने सक्दो छिटो सल्टाउने निर्णय भएको छ,’ अध्यक्ष चंकी क्षेत्रीले भने ।

उनका अनुसार सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको अध्यक्ष क्षेत्रीले बताए ।

त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने क्षेत्री बताउँछन् ।

चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले बन्द गरेका कृषि बीमाको पोलिसी बिक्री सुचारु गर्ने भएका छन् । तर पशुपन्छी बीमालेख भने तत्काल बिक्री नगर्ने संघको मनसाय छ ।

मंगलबार, ०५ असार २०८०, ११ : ५९

प्रतिक्रिया