राष्ट्र बैंकले २० अर्ब माग्दा बैंकहरुले दिए २८ अर्ब भन्दा बढिको आवेदन, अधिक तरलताको अवस्था

बुधबार, २० असार २०८०, ०८ : १०

काठमाडौं - राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले मागेभन्दा बढी रकमका लागि  बैंकहरुले आवेदन दिएका हुन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको छ ।

उक्त रिभर्स रिपोको अधिकतम ५.३७% र न्यूनतम ४.४९% ब्याजदर कायम भएको थियो । योबाट औसत ब्याजदर ५.०५९१% निर्धारण भएको छ । ११ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । राष्ट्र बैंकले १० दिन अर्थात् असार २९ गतेसम्मका लागि बोलकबोलमार्फत २० अर्ब खिचेको हो । 

यसअघि असार १० गते रिभर्स रिपो जारी गर्दा भारित औसत ब्याजदर ४.२७५३% कायम भएको थियो । केन्द्रीय बैंकले अधिक तरलता भएपछि असारमा मात्रै ३ पटक रिभर्स रिपो जारी गरिसकेको छ । 

बैंक तथा वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तर बैंक ब्याजदर न्यूनतम बिन्दुमा आए पछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३.४२% छ ।

बुधबार, २० असार २०८०, ०८ : १०

प्रतिक्रिया