काठमाडौँ - उत्तरी छिमेकी मुलुक चीनले आफूसँग सीमा जोडिएका नेपाली भूभागमा धमाधम व्यापारिक पूर्वाधार बनाउने क्रमलाई तीव्रता दिएको छ । चीनले ४ अर्ब रुपैयाँ सहयोगमा सिन्धुपाल्चोकको तातोपानीपछि ३ अर्बको लागत सहयोगमा रसुवाको टिमुरेमा समेत सुख्खा बन्दरगाह निर्माण गरिरहेको छ ।
यी दुई उदाहरणले चीन नेपालसँगको व्यापारिक नाकालाई व्यवस्थित र भरपर्दो रूपमा विकास गर्न अर्बौ लगानी गरिरहेको प्रस्ट हुन्छ । चीनले तातोपानी सुख्खा बन्दरगाह, मितेरी पुल र ६ किलोमिटर सडक निर्माणका लागि ४ अर्बभन्दा बढी रकम खर्च गरेको थियो । तातोपानी सुख्खा बन्दरगाह निर्माण सम्पन्न भएर हाल सञ्चालनमा छ ।
यता रसुवाको टिमुरेमा ३ अर्बको लागतमा निर्माणाधीन अवस्थामा रहेको सुख्खा बन्दरगाहको कामसमेत ४५ प्रतिशत सम्पन्न भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सन् २०२५ भित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ पक्षले काम गरिरहेको बताए । हाल रसुवाको सुख्खा बन्दरगाह बनाउन १०० जना चिनियाँले काम गरिरहेका छन् ।
यी दुईबाहेक चीनले माथिल्लो मुस्ताङमा समेत कोरला सुख्खा बन्दरगाह निर्माणमा चासो देखाइरहेको छ । नेपाली पक्षले समेत कोरला सुख्खा बन्दरगाह बनाउन चिनियाँ पक्षलाई आग्रह गरिरहेको छ ।
हाल कोरला सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)तयार भइसकेको छ । यो सुख्खा बन्दरगाह निर्माणमा समेत चीनको सहयोग हुने सक्ने अनुमान उच्च सरकारी संयन्त्रको छ ।
प्रतिक्रिया