खेल मैदानका लागि ४० लाख बजेट

शनिबार, ३० असार २०८०, १८ : १८

काठमाडौँ - जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि खेल मैदान निर्माण गर्न बजेट विनियोजित गरेको पाइएको छ।

असार १० गते गाउँसभाबाट पारित भएको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उक्त गाउँपालिकाले खेलमैदान निर्माणका लागि बजेटको व्यवस्था गरेको हो।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आगामी वर्षका लागि गाउँसभाबाट खेल मैदान निर्माणका लागि ४० लाख बजेट व्यवस्था गरिएको बताए।

अदानचुलीले पहिलो पटक खेल मैदानका लागि यतिधेरै बजेटको व्यवस्था गरेको हो। यसअघि उक्त गाउँपालिकाले खेल क्षेत्रका लागि बजेटको व्यवस्था गर्ने गरेको थिएन।

गाउँपालिकाद्वारा विनियोजित बजेटमा २० लाख संघीय सरकारबाट प्राप्त भएको हो भने बाँकी २० लाख बजेट भने गाउँपालिकाले आफ्नै श्रोतबाट विनियोजित गरेको हो। उनले नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै मैदान निर्माण सुरु हुने बताए।

यसरी खेल मैदान निर्माणका लागि जिल्लाका सात वटामध्ये अदानचुली गाउँपालिकाले मात्र बजेटको व्यवस्था गरेको हो।

 

शनिबार, ३० असार २०८०, १८ : १८

प्रतिक्रिया