सन नेपाल लाइफ इन्सुरेन्सको आजबाट आइपीओ बिक्री खुला

सोमबार, ०१ साउन २०८०, ०७ : ५०

काठमाडौं - सन नेपाल लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज सोमबार साउन १ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०% ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्दैछ । 

त्यस मध्येबाट १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । 

रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

सोमबार, ०१ साउन २०८०, ०७ : ५०

प्रतिक्रिया