काठमाडौं- चितवन जिल्लाको रत्ननगर नगरपालिकाले कात्तिक मसान्तसम्म चालू आर्थिक वर्ष (आव) २०८० र ८१ को व्यवसाय कर बुझाउनेलाई करमा २० प्रतिशत छूट दिने भएको छ ।
सो अवधिभित्र चालु आवको सम्पत्ति कर बुझाउनेलाई भने नगरपालिकाले करमा १० प्रतिशत छूट दिने भएको छ ।
सो अवधिभित्र विगतका आर्थिक वर्षको व्यवसाय कर तिरेमा भने जरिवानामा ५० प्रतिशत छूट गरिएको राजस्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै बुझाउन आग्रह गर्दै तिर्नुपर्ने कर चुक्ता नगरेसम्म नगरपालिकाबाट उपलब्ध हुने सेवासुविधाबाट वञ्चित गरिने जानकारी दिए । कर नतिर्ने, कर छल्ने तथा झुटा विवरण पेस गर्ने कार्य गरेमा ऐन, कानुनबमोजिम कारबाही हुने उनले बताए ।
नगरपालिकाले एक सूचना जारी गरी हालसम्म व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेका, व्यवसाय नवीकरण नगरेका कुनै पनि उद्योग, व्यापार, व्यवसाय, पेसा वा अन्य प्रकृतिका व्यावसायिक कारोबार गर्ने फर्म वा कम्पनीलाई सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गराउन अनुरोध गरेको छ । साथै, नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पत्ति कर, बहालकर र व्यवसायीहरूको व्यवसाय दर्ता नवीकरणको अनुगमन एवं अभिलेख अद्यावधिक गर्न कर्मचारी, जनप्रतिनिधि एवं सरोकारवाला सहितको अनुगमन टोली परिचालन गरेको नगरप्रमुख प्रलाद सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया