गणपति माइक्रोफाइनान्सको 'तीन करोड ३५ लाख' बराबरको आइपिओ आउँदै

शुक्रबार, ०८ चैत्र २०७५, १३ : ०४

काठमाडौँ – गणपति माइक्रोफाइनान्सले तीन करोड ३५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

 नेपाल धितोपत्र बोर्डले संस्थालाई प्रति कित्ता १०० रुपैयाँको दरमा तीन लाख ३५ हजार कित्ता आइपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।

प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार संस्थाले केयर एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ । यसले मध्यम किसिमको जोखिमको संकेत गरेको छ ।

प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १० करोड ३५ लाख रुपैयाँ पुग्नेछ । जसमा सर्वसाधारणको हिस्सा ३२.३७ प्रतिशत कायम हुने छ भने संस्थापकतर्फ ६७.६३ प्रतिशत पुग्नेछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकका लागि संस्थाले एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार संस्थाले एक करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाले  १७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६६ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

विसं  २०७३ मंसिरमा व्यवसाय सञ्चालन अनुमति पाएर वित्तीय कारोबार गर्दै आएको छ। संस्थाले २८ वटा शाखा कार्यालय मार्फत ९५ वटा नगरपालिका तथा गाँउपालिकामा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । 

शुक्रबार, ०८ चैत्र २०७५, १३ : ०४

प्रतिक्रिया