काठमाडौं - अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्याउने बताएको छ। शुक्रबार २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय/अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका छन्।
दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले आफूलाई कुनै दाताभन्दा पनि साझेदारको रुपमा सहयोग गर्न लागेको उल्लेख गरे।
‘अमेरिका र नेपालबीच बलियो र प्रगाढ सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र आत्मीय बन्दै जानेछ’, राजदूत बेरीले भने, ‘म यो सम्बन्धको निरन्तरताको कामना गर्दछु।’
अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट फण्डिङ अन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदान दिन लागेको छ।
एमसीसीको ५५ अर्ब रूपैयाँ बराबरको अमेरिकी अनुदान सहयोग जीवनाधार मानिने विद्युत् प्रसारण लाइन र सडक सुधारमा खर्च हुन लागेको छ।
कार्यक्रममा राजदूत बेरीले अमेरिका बर नेपालबीचको सात दशक लामो सम्बन्धलाई साझा लक्ष्य र प्रगाढ, सार्थक साझेदारीको परिणामस्वरूप सम्भव भएको ‘संयुक्त सफलता’ का रुपमा व्याख्या गरे। अन्नपूर्ण पाेस्टमा खबर छ ।
प्रतिक्रिया