काठमाडौं- करिब डेढ वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा नेताहरूले प्रस्ट रूपमा दुई धारमा उभिएर धारणा राखेपछि माओवादीले आन्तरिक एकता मजबुत रहेको सन्देश दिने गरी रूपान्तरण अभियान चलाउने निर्णय गरेको छ । पाँच दिन चलेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गोलबद्ध भएर ‘जनतासँग विशेष माओवादी रूपान्तरण अभियान’ गर्ने निर्णय गरेको हो ।
भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने अभियानअन्तर्गत अध्यक्ष दाहालसहित सबै केन्द्रीय सदस्य अनिवार्य गाउँ जानेछन् । ‘हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौं, जनतासँग विशेष माओवादी रूपान्तरण अभियानमा पार्टीका सबै नेताहरू जनतासँग जोडिएर जनताका समस्या हल गर्न केन्द्रित हुनेछौं,’ केन्द्रीय समिति बैठक समापन गर्दै दाहालले अभियानको घोषणा गरे, ‘६ हजार ७ सयभन्दा बढी वडामा अभियान चलाउने सर्वसम्मत निष्कर्षमा हामी पुगेका छौं ।’
सरकार र पार्टीबीच उचित समन्वय हुन नसकेको, सरकारमा गएपछि संगठनहरू निष्क्रिय र अस्तव्यस्त बनेको, पहुँचवाला नेता–कार्यकर्ता सत्तामुखी र सहरमुखी भएको, सोझा नेता–कार्यकर्ताले जिम्मेवारी समेत नपाएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेका थिए । सत्ताको स्वाद र निकट रहेका नेताहरूले मूल नेतृत्वको प्रशंसा गरे भने अवसर नपाएका नेताहरूले चर्को आलोचना गरे ।
नेताहरूले मुख्यगरी पार्टीमा सामूहिक नेतृत्व प्रणाली नभएको, नेतृत्व पुस्तान्तरणका लागि विधि तय गर्न नचाहेको, नातावाद र निकटलाई पटकपटक अवसर दिएको, नवधनाढ्यमा परिणत भएको सवाल उठाएका थिए ।
पाँच दिन चलेको बैठकमा बोल्ने पालो पाएका दुई सय केन्द्रीय सदस्यमध्ये धेरैजसोले नेतृत्वको आलोचना गरेपछि अध्यक्ष दाहालले आइतबार बिहान बालुवाटारमा पदाधिकारीको ‘लञ्च बैठक’ राखेर समाधान खोजेका थिए । ‘कोही पनि नेता जिम्मेवारीविहीन हुनुहुँदैन, फरक विचार राखेकै भरमा कसैप्रति आशंका गर्नुहुँदैन,’ उनले प्रस्ताव अघि सारे, ‘सबै रूपान्तरण भएर, पार्टीमा विधि बनाएर जाऔं ।’
करिब चार घण्टा चलेको पदाधिकारी बैठकपछि दिउँसो १ बजे सुरु भएको केन्द्रीय समिति बैठकमा दाहालले करिब दुई घण्टा नेताहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । उनले नेतृत्वप्रति विश्वास गरेर मात्र पार्टी बन्न सक्ने भन्दै अन्तरविरोध हल गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया