आर्थिक संकट अस्थायी हो सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

८ महिना अगाडि

काठमाडौं - अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । 

शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्वोधन गरेको बताएका छन् । उनले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गरे ।

मन्त्री महतले अन्तर्राष्टिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताए । सरकारले तरलता वृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताए । उनले भने–‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ ।

हिसाब किताब चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाब किताब हेर्ने काममा महत्वपूर्ण भूमिका छ ।’ मन्त्री महतले अडानले हिसाब किताब चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभीटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आवश्यक सहयोग गर्ने वचन दिए ।

मन्त्री महतले वजेटको स्रोत सुनिश्चितता गरेको आधारमा वहुवर्षे विकासका आयोजना अघि बढाउँदा पछि वजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताए। मन्त्री महतले आर्थिक संकट भोगेको उद्योगी व्यवसायीहरुलाई सकारात्मक वहस शुरु गरेर हामी गर्न सक्छौं भन्ने मान्यताका साथ अघि बढ्न आग्रह गरे । उनले सम्भावना भएका क्षेत्रमा मात्र लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्दै कृषि लगायतका उद्योगहरुमा धेरै सम्भावना रहेको बताए ।
 

८ महिना अगाडि

प्रतिक्रिया