गोल्यान समूहको नेतृत्वमा ५ अर्बकोे कृषि कम्पनी सञ्चालनमा आउने

शुक्रबार, २६ साउन २०८०, ०९ : ३४

काठमाडौं-  नेपालको प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहको नेतृत्वमा ५ अर्बकोे कृषि कम्पनी सञ्चालनमा आउने भएको छ । 

समूहले सर्वसारणको लागि आईपीओसहित ५ अर्बको कृषि कम्पनी सञ्चालनमा ल्याउन लागेको हो । नेपालमा कृषिजन्य वस्तुको उत्पादन र उपभोगको परिपूर्ति तथा प्रभावकारी बजारीकरणका लागि आफ्नो नेतृत्वमा कम्पनी स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको गोल्यान समूह एवं बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

सोका लागि जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड ९जाफल० नामक कम्पनी दर्ता गरेर सो सम्बन्धी उद्योगी व्यवसायीलाई समावेश गरिएको छ । साथै कम्पनीमा प्रायः बैंक तथा वित्तीय क्षेत्रमा आवद्ध लगानीकर्ताहरु रहेको समेत अध्यक्ष गोल्यानले जानकारी दिए । गोल्यान नेतृत्वको कम्पनीमा बैंकर भोजबहादुर शाह, केशव रायमाझी, प्रेमबहादुर लामा, कमलेश अग्रवाल, नरबहादुर कार्की, परितोष पौडेल, गुणाकर गैरे, टीकाराम पुरी, उपेन्द्रकेशरी निरौलालगायत ९ जनाको सञ्चालक समिति रहेको छ ।

यसैगरी कम्पनीमा २० वर्षदेखि सञ्चालनमा रहेको आशापुरी अर्गानिक कम्पनी पनि जोडिएको छ । आशापुरी अर्गानिक कम्पनीले २० वर्ष देखी अर्गानिक बस्तुहरु विक्रीवितरण गर्दै आएको गोल्यान बताउँछन् । यसैगरी कम्पनीमा गोल्यानका अधिकांस पुराना फार्महरु पनि जोडिने छन् । गोल्यान समूहले अहिले देशको विभिन्न ठाउँमा कृषि फार्म सञ्चालन गरिहेको छ । यसैगरी, यस कम्पनीले माटो ब्राण्ड बनाएर कृषि जन्य उत्पादन बेचिरहेको छ ।


नेपालमा कृषि क्षेत्रमा बृहत् व्यावसायीकरण गर्ने उद्देश्यले जनसहभागितामा उक्त कम्पनी संचालनमा ल्याउन लागिएको अध्यक्ष गोल्यानले जानकारी दिए । ‘यसलाई ठूलो कृषि कम्पनीका रूपमा विकास गरिने छ,’ उनले भने, ‘सो कम्पनीमार्फत कृषि क्षेत्रमा अध्ययन अनुसन्धानका साथै गाउँगाउँका कृषकहरुसँग सम्झौता गरेर अर्गानिक खेती गरिनेछ ।’ हाल लगानीकर्ताबाट लगानी जुटाउने काम भइरहेको र प्रवद्र्धकहरुबाट जुटाउनु पर्ने रकम जुटेसँगै सर्वसाधारणका लागि सेयर जारी गरिनेसमेत उनले जानकारी दिए । कुल चुक्ता पुँजी ५ अर्ब भएको जाफलले तत्काल लागि ३ अर्ब रुपैयाँ मात्रै जुटाउने छ । जसका लागि २ अर्ब ७० करोड रुपैयाँ संस्थापक लगानीकर्ताको रहने र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि (आईपीओ) सेयर जारी गरिने छ । सर्वसाधारणमा सेयर जारी गर्नकै लागि पब्लिक कम्पनीसमेत बनाइसकिएको गोल्यानले जानकारी दिए ।

अर्गानिक कृषि खेतीका लागि गोल्यान समूहले झापामा १६६ बिग्गा जग्गा किनेर हाल कृषि खेती गर्दै आएको छ । सोही जग्गालाई समेत जाफल अन्तरगत ल्याएर व्यवसायिक रुपमा कृषि खेतीलाई अघि बढाउने योजना कम्पनीको छ । हाल गोल्यान समूहले माटो ब्रान्ड स्थापना गरेर बिभिन्न ठाउँहरुबाट अर्गानिक उत्पादनहरु ल्याएर त्यसको बजारीकरण गरिरहेको छ । माटो ब्राण्डमा हाल १५० वटा उत्पादनहरु बेचिरहेका गोल्यानले विदेशमा पनि सामान निर्यात गर्ने तयारी गरेका छन् । ‘केहि समय अगाडी आसापुरीको सहकार्यमा हामीले क्यानडाको लागि एक ट्रक सामान पठाएको छौं, त्यसको प्रतिक्रिया राम्रो आएको छ,’ उनी भन्छन्, ‘चीनमा पनि केहि सामान निर्यात हुने गरेको छ ।’ यसैगरी, जाफलले निर्यात गर्दा विषेस गरेर ८० लाख गैरआवासीय नेपालीसम्म अर्गानिक बस्तु पुर्याउने गरी काम गर्ने उनको बुझाई छ ।

शुक्रबार, २६ साउन २०८०, ०९ : ३४

प्रतिक्रिया