काठमाडौं- शनिवारका दिन फुर्सदिलो दिन जोकोहीलाई लाग्छ कि फुर्सदिलो शनिवारमा कुनै मनोरम ठाँउ जाउँ जहाँ पुग्दा हप्ताभरिको कामको थकान बिसाउन पाइयोस् । तर घुम्न जाने सोच मात्रै भएर पनि भएन, त्यसकालागि त उपयुक्त ठाँउको छनोट हुन आवश्यक छ ।
हप्ताभर थुप्रिएको घरको काम सकेर धेरै टाढा जान भ्याइँदैन । भोलिपल्ट स्कुल कलेज छ र आफ्नो अफिस भ्याउन पुग्नैपर्ने बाध्यताका बीच धेरै परिवारले घुम्न जाने इच्छा मारेर बसेका हुन्छन् । समयसँगै कतिपयको समस्या बनिदिन्छ, आर्थिक पक्ष ।
काठमाडौं जस्तो महंगी भएको ठाउँमा बसेर कमाएको पैसा सामान्यतः घरखर्च, बच्चाको पढाइ, स्वास्थ्य उपचार आदिमै ठिक्क हुन्छ । यस्तोमा कतै घुम्न जानका लागि पनि अलग्गै बजेटको व्यवस्था गर्नुपर्ने हुन सक्छ । त्यस्ता परिवारका लागि काठमाडौंको नजिकै पर्ने केही पर्यटकीय गन्तव्यका बारे यहाँ चर्चा गरिएको छ । यी स्थानमा जानका लागि न त धेरै समय छुट्याउनुपर्छ, न त धेरै आर्थिक भार नै ।
त्रिभुवन पार्क
थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसंगै डेटिङ स्पटका रुपमा चिनिन थालेको एक चर्चित थलो हो । हरियाली जंंगलभित्रका ससाना बगैंचा र चराचुरुङ्गीको चिर्बिर९चिर्बिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ। कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ । पार्क सुनसान र रमणीय भएकाले जोडीहरूले भ्यालेन्टाइन स्पटका रुपमा छनोट गर्न सक्छन् ।
सदर चिडियाखाना
जनावर तथा पक्षीको अवलोकन मात्र होइन डेटिङका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरूको संख्या पनि धेरै छ । शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।
धुलिखेल
धुलिखेल अर्को गन्तब्य हो जहाँ धेरै प्रेमिल जोडीहरू जाने गर्दछन् । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ उपयुक्त हुन सक्छ । यो ठाँउ परिवारिक घुमघामका लागि समेत राम्रो मानिन्छ ।
नगरकोट
काठमाडौंबाट करिव ३५ किमीको दूरीमा रहेको यो ठाउँ प्राकृतिक रुपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाइमा पर्ने गरेको छ नगरकोट । मनोरम हिम शृंखला सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिसोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।
चोभार
यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ । चलचित्र तथा म्युजिक भिडियोका छायांकनका लागि ख्याति कमाएको यो स्थान सुनसान र एकान्त छ ।
भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमापरिवारिक घुमघामका लागि राम्रो मानिन्छ । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरू पनि छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ ।
चिसापानी
नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको संगमस्थल चिसापानी पुग्न सुन्दरीजलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । घना जंगल र तामाङ बस्तीहरूको अवलोकन गर्दै सात घण्टा यात्रा गर्दाको मजा बेग्लै हुन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जंगल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ । गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । एकरात बास बस्ने हो भने सुविधायुक्त होटलहरू छन् ।
कुलेखानी
घुम्नका लागि उपयुक्त स्थान विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) रोज्ने गन्तब्य हो । माछाका परिकारहरू खानका लागि धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौंबाट फर्पिङ हुँदै ४५ मिलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।
ड्रिम गार्डेन
पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधासम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात स्वप्न बगैंचा । यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैंचा, सुविधा सम्पन्न क्याफे रहेको बगैंचा केशरमहलसँगै रहेको छ । विदेशीहरूको रोजाइमा पर्ने बगैंचा नेपालीहरूको पनि उत्तिनै भिड लाग्छ ।
सुन्दरीजल
नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो । यो ठाउँ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुवधाहरू उपलब्ध छन् ।
स्वयम्भू
बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भू पनि घुमघामका लागि राम्रो मानिन्छ । धार्मिक स्थल परिसरका रमणीय स्थलहरू प्राय डेटिङ स्पटका रुपमा चिनिएका छन् । त्यसमध्ये काठमाडौं सहरभन्दा केही उच्च स्थानमा रहेको स्वयम्भू सहरको रमणीय दृश्यावलोकन साथै शीतलतामा रमाउन सकिन्छ ।
ककनी
डेटिङ स्पटको रुपमा चिनिने चर्चित ठाँउ हो नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौं नजिकैको पर्यटकीय स्थलको रुपमा लिइन्छ । ट्राउट माछाको स्वादसँगै स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ ककनी। काठमाडौंको माछापोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । एकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् ।
बालाजु पार्क
बालाजु बाइपासमा रहेको बालाजुपार्क सांस्कृतिक धार्मिक महत्वको क्षेत्र हो। यद्यपि यहाँको पौडी पोखरी, पार्क र २२ धाराले यो स्थानलाई दिन बिताउन सकिने स्थल बनाएको छ। बालाजु क्षेत्रमा रहेको तपोवन ध्यान, योगका लागि प्रसिद्ध स्थल हो। त्यसो त यहाँको आध्यात्मिक वातावरणले सम्बन्ध र भावनालाई गम्भिर पनि बनाउँछ। यहाँको पार्क क्षेत्रको शान्त वातावरण गम्भिर कुराकानीका लागि उपयुक्त स्थल पनि हो।
गोदावरी
प्रेम जोडीका लागि प्रेम ब्यक्त गर्ने उत्तम गन्तब्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रुपमा लिइन्छ । । यहाँ माया साट्नेहरूको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरू थुप्रै भेटिन्छन् । गोदावरीस्थित बोटानिकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ। माथी उल्लेखित प्रख्यात ठाँउहरुमध्येमा केही ठाँउमा भने सामान्य टिकट शुल्क तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया