१महिनामा काठमाडौँ महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व

८ महिना अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको साउन (१ महिना) मा काठमाडौँ महानगरपालिकाको ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष (आ. व. २०७९/८०) को यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

गएको बर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो । आ. व. २०७७/०७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमशः बढ्दो क्रममा छ ।

त्यस वर्ष (आ. व. २०७७/७८) को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आ. व. ०७८/०७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो ।

पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ. व. ०७९/०८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो ।

यी ४ बर्षमध्ये सबैभन्दा धेरै यही वर्ष संकलन भएको हो । यस वर्ष सम्पत्ति, बहाल  तथा पट्टावापतको आयमा लाग्ने कर, साना सवारी साधन कर, बाँडफाँड भइ प्राप्त हुने मूल्य अभिवृद्धि कर, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर संकलन भएको छैन । यस्तै वित्तिय निकायबाट प्राप्त हुने व्याज रकम प्राप्त भएको छैन ।

प्राप्त राजस्वमध्ये सबैभन्दा धेरै घर बहाल करबाट ३१ करोड ६० लाख १८ हजार २२८ रुपैयाँ प्राप्त भएको छ । यसपछि ठूलो रकम प्राप्त हुने शीर्षक सम्पत्ति कर हो । यसमा १२ करोड ५८ लाख ४८ हजार ७७३ रुपैयाँ प्राप्त भएको छ ।

अन्य राजस्व शीर्षकहरुमा भूमिकर, व्यक्तिगत आन्तरिक अनुदान, सेवा शुल्क, न्यायिक दस्तुर, नक्सा पास दस्तुर, पार्किङ् शुल्क, शिफारिस दस्तुर लगायत छन् । यस्तै प्रशासनिक दण्ड, जरिवाना र जफत, पर्यटन शुल्क, धरौटी सदरस्याहा, बेरुजु लगायत हुन् ।

८ महिना अगाडि

प्रतिक्रिया