सरकारको मुल प्राथमिकता नै भ्रष्टाचार र अपराध नियन्त्रण गर्नु हो : गृहमन्त्री श्रेष्ठ

सोमबार, ११ भदौ २०८०, ०८ : १७

काठमाडौं- उपप्रधानमन्त्री एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताउनुभएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बिरगंज जानुभएका श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको बताउनुभयो ।

प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताले आफ्नो आर्थिक-सामाजिक समृद्धिका रूपमा अनुभूति गर्न सक्नुपर्ने र वर्तमान सरकारले त्यही ध्येयबाट काम गरिरहेको बताउनुभयो । 

समृद्धिको सर्त सुशासन भएकोले सरकारले भ्रष्टाचार, अपराध, ठगी जस्ता गतिविधि नियन्त्रणलाई मुल प्राथमिकता बनाएको समेत उहाँले बताउनुभयो। सुराकी नाममा मन्त्री-सचिवले लिइरहेको खर्च कटौती गरिएको, अनुचित लेनदेन नियन्त्रण गर्न आयोग तथा कानुन निर्माण गरिएको र प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सरुवा, बढुवा तथा पदस्थापनामा मापदण्ड निर्धारण गरिएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

साथै आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने जस्तो संगठित अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याइसकिएको समेत उहाँले बताउनुभयो । जुनसुकै अपराध घटनाको अनुसन्धानलाई जरैसम्म पुरेर अपराधीहरूलाई कठघरमा ल्याउने उहाँको भनाइ थियो ।

प्रहरी निकाय (सीआइबी)ले सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धान गरिरहेको र अनुसन्धानले उचित निष्कर्ष दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । त्यस्तै सहकारी संस्थाहरुमा देखिएका समस्याबारे समेत गहिरो अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

सोमबार, ११ भदौ २०८०, ०८ : १७

प्रतिक्रिया