काठमाडौँ- आज एम.सी.सी र एस.पी.पी परियोजना विरुद्धमा चारपार्टी द्धारा विरोध जुलुस आयोजना गरिएको छ तर राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने देशको हितमा हुने बैदेशिक लगानी लिनलाई राज्यले कन्जुस्याँइ गर्न नहुने धारणा राख्नुभएको छ ।
राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको आयोजनामा मंगलबार भएको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय आगामी शिखर सम्मेलनमा प्रस्तुत गर्ने कार्यसूची तथा भावी रणनीतिसम्बन्धी मंगलबार काठमाडौँमा आयोजित परामर्श गोष्ठीमा उहाँले देशको हितमा आउने बैदेशिक सहायता स्विकार गर्नुपर्ने बताउनुभएको हो ।
‘प्रत्यक्ष वैदेशिक लगानी देशको हितमा छ भने स्वीकार गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘दातृ राष्ट्रले बिना कुनै सर्तबन्दी गरेको सहयोगलाई पनि लिन नसकेका उदाहरण छन, राष्ट्रहितका लागि कुनै सम्झौता नगरिकन आउने लगानी स्विकार गर्न र सहजीकरण गर्न कमजोरी भएका छन।’ नेपालमा लगानी गर्छौं भन्दा पनि सरकारका अधिकारीहरूले त्यसलाई स्विकार गर्न आलटाल गर्नुपर्ने कारण के हो भनेर प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले अरबौका सहयोगका परियोजना पनि अघि बढाउन आलटाल भएको प्रति असन्तुष्टि जनाउनुभयो ।
‘देश हितको लागि सबै लिने आँट गरौं । आएका फाइल जति मन्त्रालयबाट अगाडि बढाऔँ ।उहाँले भन्नुभयो ‘अर्बौंका फाइल पनि अगाडि नबढाउने, निधार खुम्च्याउने, कहीँकेही लाखका फाइल अगाडि बढाउने प्रवृत्ति आज छ, त्यो अन्त्य गरौँ । तब मात्र हामीले बाहिरबाट सहयोग र एफडीआई लिनसक्छौँ ।’
मुलुकको अहित हुने र सैन्य गठबन्धनमा सहभागी हुने खालका वैदेशिक लगानी भने लिन नहुने धारणा उहाँको छ । अध्यक्ष तिमिल्सिनाले तोकिएको दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो । समयावधिभित्र दिगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औल्याउनुभयो ।
‘बजेट र योजनाबीच तालमेल छैन, बजेट विनियोजनमा इमान्दार प्रयत्न हुनुपर्छ, अबण्डमा बजेट राखेर कसरी दिगो विकास लक्ष्य प्राप्त हुन्छ ।’ उहाँले भन्नुभयो ‘कृषियोग्य समथर जमिनमा बस्ती बसाल्ने भिरपाखामा खेती गर्ने कार्यले खाद्य सुरक्षा हुनसक्दैन ।’
प्रतिक्रिया