काठमाडौँ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ ।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ ।
माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक सङ्कलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गर्ने तयारी छ । उद्घाटनको दिन सबै केन्द्रीय सदस्यहरू वडा तहमा पुग्ने ,बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको सचिव आचार्यको भनाइ छ ।
परिपत्रअनुसार प्रदेश इन्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै स्थायी समिति सदस्य नरहेका प्रदेशहरूमा वा स्थायी समिति सदस्यहरू भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यहरू समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्यरआयोग सदस्य रसल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ । एउटा अभियान टोलीको जिम्मामा १० र ११ वडा पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया