कोशी सरकारविरुद्धको आज सुनुवाइ हुँदै

आइतबार, १७ भदौ २०८०, ०८ : ३८

कोशी सरकारविरुद्ध रिटको सुनुवाइ आज हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो।

 शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा न्यायाधीश खतिवडा इजलासमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो। मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ गर्न लागेको हो । 

उक्त रिटमाथि आज पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो। प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।

आइतबार, १७ भदौ २०८०, ०८ : ३८

प्रतिक्रिया