मन्त्रिपरिषद्को शुक्रवारको बैठकले कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ
मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ ।
उक्त कार्यदलले पेस गरेका सुझावका आधारमा विभूषण वितरणसम्बन्धी मापदण्ड बनाउने र त्यस्तो मापदण्ड नबनुन्जेल सम्मका लागि हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको हो । दसैँ, तिहारलगायत चाडबाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । सिँचाइ नीति, २०८० र नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रूपमा समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत आजको बैठकबाट भएको छ । त्यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
प्रतिक्रिया