काठमाडौँ – आज काठमाडौँको नक्सालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।
अध्यक्ष ओलीले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताए । उनले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि बताए।
उनले उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरू देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे ।ओलीले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्ति, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गरे।
अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस नभई सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरे । उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताए । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम गरेको हो।
प्रतिक्रिया