२०औँ वर्षमा एनवाईईएफ

७ महिना अगाडि

काठमाडौँ - नेपाली युवा उद्यमी मञ्च(एनवाईईएफ)ले नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशक समर्पित सेवाको अवसरमा आफ्नो ऐतिहासिक २०औँ वार्षिकोत्सव मनाएको छ।सन् २००३ मा नेपालमा द्वन्द्वकाल चलिरहेको बेला उद्यमी गौरव अग्रवालको अध्यक्षतामा ५ युवा उद्यमीसहित सुरु भएको नेपाली युवा उद्यमी मञ्च आज २०औँ वार्षिकोत्सव मनाएको छ। मञ्चले निरन्तर रुपमा देशभरका युवा उद्यमीको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ। मञ्चले उद्यमीलाई सशक्तीकरण गर्न र महत्वाकांक्षी उद्यमीलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ।

 १.युवा सशक्तीकरणः नेपाली युवा उद्यमी मञ्च अनगिन्ती युवा उद्यमीलाई सशक्तीकरण गर्न, मार्गदर्शन दिन, स्रोत र नेटवर्किङका अवसर प्रदान गर्नका साथै उनीहरुका नवीन विचारलाई सफल उद्यमहरुमा परिणत गर्न मद्दत गर्न अग्रपंक्तिमा रहेको छ।

२.नीति एड्भोकेसीः नेपाली युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुका लागि निरन्तर आवाजका रुपमा रहेको छ। जसले उद्यमशीलता र आर्थिक वृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरी नीति सुधारको वकालत गर्दै आएको छ।

३.मेन्टरसिप कार्यक्रमः मञ्चले उद्यमशीलाता सिक्न इच्छुक विद्यार्थीसँग अनुभवी व्यवसायीहरुलाई जोड्दै धेरै मेन्टरसिप कार्यक्रम आयोजना गरेको छ।

४. च्याप्टर विस्तारः नेपाली युवा उद्यमी मञ्चले नेपालभर आफ्नो च्याप्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशमा हालै स्थापना भएको १३औँ नेपालगन्ज च्याप्टरसहित सबै ७ प्रदेशमा च्याप्टरहरु स्थापना गरेको छ।  

५. उद्यमशीलाता शिक्षाः मञ्चले लिडर्स प्रोजेक्ट, उद्यमशीलता बुटक्याम्प, युवा उद्यमशीलता सम्मेलन तथा युवा उद्यमशीलता सम्मेलन– महिलाजस्ता विभिन्न कार्यक्रममार्फत उद्यमशीलता शिक्षालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

६. मेड इन नेपाल अभियानः मञ्चले २००६ देखि ‘मेड इन नेपाल’ अभियानलाई गर्वका साथ मनाउँदै आएको छ, जसको मुख्य उद्देश्य स्थानीय उद्यमशीलता र उत्पादनहरुलाई प्रवद्धन र समर्थन गर्ने, उपभोक्तालाई स्वदेशी उत्पादन उपभोग गर्न र समर्थन गर्न प्रोत्साहित गर्ने रहेको छ।

नेपाली युवा उद्यमी मञ्चकी अध्यक्ष सहारा जोशीले यस महत्वपूर्ण अवसरका लागि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘हाम्रो २० औँ वार्षिकोत्सवको यो उल्लेखनीय यात्रा, यसमा सहभागी भएका हाम्रा सदस्यहरु, साझेदारहरु र समर्थकहरुको अटल समर्पण र प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रो अनुभवबाट नेपाली युवा उद्यमीहरुको आगामी पुस्तालाई सशक्तीकरण गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर छौँ।’मञ्चले तेस्रो दशकमा प्रवेश गर्दै गर्दा नवप्रवर्तन र उद्यमशीलताको उज्ज्वल भविष्यको परिकल्पना गर्दै नेपालभरका युवा उद्यमीलाई प्रेरित, शिक्षित र समर्थन गर्ने आफ्नो मिसनमा अडिग रहने जनाएको छ।

 

७ महिना अगाडि

प्रतिक्रिया