सरकारसँग काँग्रेसका ५ माग, मध्यमार्गी धार तलमाथि भए सरकार ढल्ने चेतावनी

मंगलबार, ०९ असोज २०८०, ०७ : ५१

गत निर्वाचनमा सबैभन्दा बढी सिट लिएर पहिलो दल बनेको नेपाली काँग्रेसबाट सरकारमा ९ जना मन्त्री छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यति बेला काँग्रेसकै नेता उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको काँधमा छ ।  

अर्थात् अहिले सरकारको प्रमुख साझेदार दल हो नेपाली काँग्रेस !  उपसभापतिसमेत रहेका खड्काले केन्द्रीय समितिमै मुलुकको पछिल्लो परिस्थिति राम्रो नरहेको बताएका छन्। ‘मुलुकको परिस्थितिमा जातीय क्षेत्रीय कुराका सङ्केत राम्रा छैनन्। त्यसका लागि काँग्रेसले सद्भाव कायम गर्नुपर्छ,’ खड्काले केन्द्रीय समितिमा यस्तो कुरा राखेका हुन। खड्काले काँग्रेसले मध्यमार्गी धार अपनाएको र उक्त धार तलमाथि भए सरकार गर्ल्यामगुर्लुम ढल्ने सङ्केत गरेका छन् । ‘काँग्रेसको मध्यमार्गी धार अलिकति तलमाथि भयो भने सबै कुरा गर्ल्यामगुर्लुम ढल्ने खतरा छ,’ खड्काले भने।

आफ्नै सरकारसँग काँग्रेसको पाँच माग गरेको छ ! काँग्रेसको केन्द्रीय समिति बैठकले आफू सहभागी सरकारसँग ५ माग प्रस्तुत गरेको छ। काँग्रेसले आफ्नो सहमहामन्त्री महेन्द्र यादवमाथिको घटनालगायत विषयलाई लिएर प्रशासनसँग सुरक्षाको माग गरेको छ। त्यसै गरी काँग्रेसले महँगी नियन्त्रण गरी खाद्यवस्तु सुलभ बनाई उपभोक्तालाई आश्वस्त पार्न माग गरेको छ।

यी हुन् सरकारसँग काँग्रेसको पाँच माग 

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको मुटु भृकुटीमण्डपको प्रहरीको पहुँचमै रहेको सार्वजनिक कार्यक्रम स्थलमै दिन दहाडै खुकुरी प्रहार गरी साङ्घातिक आक्रमणबाट गम्भीर घाइते बनाइनु, तीनकुनेमा कारखानामा सुतिरहेको अवस्थामा एक्कासि चार(चार जनाको ज्यान लिने गरी भएको आक्रमण हुनु लगायतका दर्जनौँ घटनाहरू दिनानुदिन घटी हनुलाई नेपाली काँग्रेस गम्भीर चिन्ता व्यक्त गर्दछ। नागरिकको शान्ति सुरक्षाको जिम्मा मूलतः सरकारको हो। यी घटनाहरूले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई उजागर गरेका छन् भने नागरिकमा असुरक्षाको महसुस गराएको छ। छोटो समयमा देश भर घटेका शान्ति सुरक्षाको क्षेत्रमा सरकारलाईकै चुनौती दिने यी घटनाहरूको गहिरो छानबिन र प्रभावकारी अनुसन्धान गरी दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र नागरिकहरूमा सुरक्षाको अनुभूति दिलाउनका साथै यस्ता घटना हुन नदिन प्रहरी प्रशासनको प्रभावकारी परिचालनका लागि यो बैठक नेपाल सरकारसँग माग गर्दछ।

नेपालीहरूको विभिन्न चाडपर्व क्रमशः भित्रिनै लागेको बेला बजारमा खाद्यान्न लगायतका अति आवश्यक वस्तु अभाव हुने, मूल्य आकासिने, कालोबजारी मौलाउने जस्ता कारणले सर्वसाधारण उपभोक्ताहरू अत्तालिन थालेका छन्। आम नागरिकहरू दिनानुदिन चिन्तित बन्दै गइरहेकोमा नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो अवस्था आउन नदिने र दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपयोग तथा उपभोग हुने वस्तुहरूको आपूर्ति सहज बनाउने, कृत्रिम मूल्य नियन्त्रण गर्ने, विचौलिया हरुहरुलाई निरुत्साहित गरी बजारमा सर्वसाधारणको पहुँच विस्तार गर्ने जस्ता कार्य तत्काल गर्नुपर्ने देखिन्छ। अतः विशेष ढङ्गले प्रभावकारी बजार अनुगमन गरी कृत्रिम मूल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभक्तको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोक्तालाई आश्वस्त पार्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ।

संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधान अनुरूप धेरै प्रचलित कानुनहरूको संशोधन र परिमार्जन हुन सकेका छैनन्। संविधान कार्यान्वयनसँग जोडिएका आवश्यक धेरै कानुनहरू अझै बन्न नसक्दा यसले तीनै तहका सरकार सञ्चालनमा असहज भएको छ भने नागरिकका मौलिक हक अधिकारहरू कार्यान्वयन समेत विलम्ब भइरहेकाछन् । अतः संविधान कार्यान्वयनसँग जोडिएका र संविधानसम्मत संशोधित कानुनहरू अविलम्ब बनाउन यो बैठक सरकारसँग माग गर्दछ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन २ देखि १० गते सम्म बसेको बैठकले गरेका केही जनसरोकारका विषयहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो। बाढी पहिरोबाट प्रभावित घर परिवार अनावृष्टिका कारण खेतीपाती लगाउन नपाएका र लम्पीस्कीन  रोगका कारण चौपाया पशुहरू मरेर ठुलो नोक्सानी व्यहोरेका  निम्न वर्गका किसानहरूले अझै पनि राहत क्षतिपूर्ति पाउन नसकेको व्यापक जनगुनासो रहिआएकोले तत्काल त्यस्ता गुनासोहरू सम्बोधन गर्न यो बैठक सरकारकोगम्भिर ध्यानाकर्षण गर्दछ।

मंगलबार, ०९ असोज २०८०, ०७ : ५१

प्रतिक्रिया