करको दायरालाई फराकिलो बनाउन राजस्व सप्ताह गर्दै टोखा नगरपालिका

बुधबार, १० असोज २०८०, ०९ : ४३

काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयअनुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिएका हुन । 

नगर पालिकाले गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको  थियो। नगरपालिकाभित्रको करको दायरालाई अझै फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलो पटक राजस्व सप्ताह मनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत बिसीले जानकारी दिएका छन्।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घर बहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उनले आगामी १४ गते बिहान प्रभातफेरी  कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बिसीले जानकारी दिएका हुन ।

टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट सङ्घीय सरकारसँग भर पर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै बिसीले राजस्व सप्ताहसम्बन्धी मङ्गलवार बसेको तयारी बैठकमा बोल्दै राष्ट्रिय  योजना आयोगका पूर्व सदस्य प्रा.डा.डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गरे । 

 

बुधबार, १० असोज २०८०, ०९ : ४३

प्रतिक्रिया