काठमाडौँ- फोटो पत्रकार पूर्णिमा श्रेष्ठले ६ वर्षपछि पुनः मनास्लु हिमालको विना अक्सिजन सफल आरोहण गरेकि छिन् । पुर्णिमाले बुधबार ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको विना अक्सिजन सफलतापूर्वक आरोहण गरेकी हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिएकी हुन् ।
पूर्णिमाले लेखेकि छिन्, ‘६ वर्ष पछि मनास्लु हिमालको रियल समिट बिना अक्सिजनमा पुगे । यो हिमाल आरोहण गर्दा दुई वटा कुराको चुनौती सामना गर्नु पर्यो , समिट लागि हिड्दा बेसक्याम्प बाट नै महिनावारी भए , यो मेरो हिमाल आरोहण गर्दाको पहिलो अनुभव हो । अर्को बिना अक्सिजन ८००० मिटर धेरै गाह्रो कुरा हो तयारी थियो तर डर थियो , आठ हजार मिटर हिमालहरु अक्सिजन सकिन लाग्दा अब म यहीँ मर्छु भनेर धेरै चोटि रोएको याद थियो । ’उनले थपिन्, ‘महिनावारी र हिमाल दुबै प्राकृतिक कुरा हो । असफलताका लागि धेरै बहाना हुन्छ ।तर आफ्नु सपनाको लागि बहाना नबनाउनुस । अक्सिजन हाम्रो जीवन हो , यो बिना हिमाल आरोहण गर्न सकिँदैन जस्तो महशुस हुन्थियो । तर कोशिश गरे सकिने रहेछ ।’
पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन्। भख्रै मात्र उनले विश्वकै चौध वटा अग्ला हिमालमध्ये सबैभन्दा काठिन मानिने केटुकेको यही साउन ११ गते सफल आराहण गरेकी थिइन् । केटुकेलाई माउन्टेन किलर भनेर समेत चिनिन्छ । ८ हजार ६ सय ११ मिटर उचाइको यो हिमाल चढ्ने नेपाली महिलामा उनी चौथो हुन् ।विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन् । श्रेष्ठले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । यहाँको चोयु उनी चढ्न बाँकी छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन । यो हिमाल तिब्बततिरबाट चढ्नुपर्छ । पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । २०७९ जेठ २० गते शुक्रबार नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी छिन् ।
उनले ६ वर्षअघि आफ्नै जिल्ला गोरखाकै मनास्लु हिमालबाट आरोहण सुरु गरेकी हुन् । उनले विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भएकी थिइन् । त्यस्तै सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर (८८४८.८६ मिटर) सगरमाथाको सफल आरोहण गरिन् । त्यसै गरी सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण (८,०९१ मिटर) प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको गरेकी थिइन् । साथै धौलागिरि (८१६७ मिटर) आरोहण सन् १ अक्टोबर २०२१ मा गरेकी थिइन् भने कञ्चनजङ्घा (८५८६ मिटर) ०५ मे २०२२ मा गरेकी थिइन् । त्यस्तै ल्होत्से (८,५१६ मिटर) शिखर १६ मे २०२२ र मकालु (८४८१ मिटर) २७ मे २०२२ मा सफल आरोहण गरेकी थिइन् ।
गोर्खा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा श्रेष्ठ जन्मिएकी हुन् । उनी चन्द्रप्रसाद र गंगाकी एकमात्र छोरी हुन् । पूर्णिमा पेसाले फोटो पत्रकार हुन् । उनले २०७५ जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर उनको अदम्य साहसको सर्वत्र प्रशंसा सुरु भएको थियो ।
प्रतिक्रिया