कोशी प्रदेशः आज हस्ताक्षर गर्ने सांसदको सनाखत हुदैँ

शनिबार, २७ असोज २०८०, ०८ : ०८

कोशी  प्रदेशमा प्रदेश प्रमुख परशुराम खार्पुङले शनिवार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत गर्ने भएका छन्। शुक्रवार नेपाली काँग्रेसका केदार कार्की नेकपा एमालेका ३९ र काँग्रेसका ८ सांसद सहित ४७ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखकहाँ पुगेका थिए।

तर प्रदेश प्रमुख खापुङले  दुवै पक्षका समर्थक सां‌सदको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन्। गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई  मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षले उक्त निर्णय नमानी कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।

शुक्रवार कोशी  विवादबारे समाधान गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणमा धुम्बाराहीमा  प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो।

उक्त बैठकमा शेखरलाई पनि बोलाइएकोमा कोइरालाले सबै प्रस्ताव अस्वीकार गर्दै बैठक बहिष्कार गरेका थिए। बैठक शनिवार बिहान पुनस् बोलाइएको छ। राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता नहुने अडान लिएका छन्।

कोशीमा मुख्यमन्त्रीका लागि शनिवार कार्की र आङ्बोले दाबी पेस गरेका छन्। कार्कीले नेकपा एमालेका ३९ र काँग्रेसका ८ सांसदसहित ४७ जनाको समर्थन जुटाएका छन्। गठबन्धनबाट आङ्बोले काङ्ग्रेससहित चार दलको समर्थन जुटाएका छन्।

तर प्रदेश प्रमुख खार्पुङले शुक्रवार साँझ सूचना जारी गर्दै सनाखत गरेर मात्रै शनिवार मुख्यमन्त्री नियुक्त गर्ने जानकारी दिएका हुन्। शनिवार बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ।

शनिबार, २७ असोज २०८०, ०८ : ०८

प्रतिक्रिया