गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ विश्व सम्मेलन आज (मङ्गलवार) देखि सुरु हुँदै छ। काठमाडौँको सोल्टी होटेलमा हुने विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनले गैर आवासीय नेपाली सङ्घमा नयाँ नेतृत्व चयन गर्नेछ।
सङ्घको अध्यक्षका लागि ५ जना प्रत्याशी छन्। वर्तमान अध्यक्ष बद्री केसी, वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आकरे) शर्मा र महेशकुमार शर्माले उम्मेदवारी दर्ता गरिसकेका छन्। यस्तै, वर्तमान उपाध्यक्ष रविना थापा र उपमहासचिव विनय अधिकारी पनि अध्यक्षका प्रत्याशी छन्। दुई वर्षको कार्यकालका लागि नयाँ समिति चयन हुनेछ। अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूबाट ७४ जना पदाधिकारीहरू निर्वाचित हुनेछन्।
निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सूचना जारी गरिएको छ। जसअनुसार मतदान कात्तिक २ गते तोकिएको छ। साथै आजकै दिन पारेर गैरआवासीय नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने क्रम सुरु भएको छ।
आज बिहान काठमाडौं एक कार्यक्रमको आयोजना गरी गैर आवासीय नेपाली नागरिकता हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान बालुवाटारमा एक समारोहका बिच गैर आवासीय नेपाली सङ्घका पदाधिकारीलाई नागरिकता हस्तान्तरण गरेका हुन।
कार्यक्रममा बोल्दै प्रचण्डले निकै ठुलो सङ्घर्ष र मेहनतपछि गैर आवासीय नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवस्था बनेको बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया